मेलम्ची खानेपानी आयोजना राष्ट्रिय गौरवको परियोजना हो । स्वदेश तथा विदेशमा समेत अन्यन्तै चासोका साथ हेरिएको यो आयोजनासँग करिब चालिस लाख मानिसको अधिकारको विषय जोडिएको छ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची खोलादेखि सुन्दरीजलसम्म २६.५ कि.मी सुरुङ्ग मार्गबाट ल्याईएको पानीलाई सुन्दरी जलमा रहेको पानी प्रशोधनमा खसालिने छ ।
तत् पश्चात्ः प्रशोधित पानी सुन्दरीजलबाट उपत्यकामा निर्माण गरिएको १० वटा ट्याङ्किमा पठाईनेछ । पहिलो चरणको काम सम्पन्न भएपश्चात १७ करोड लिटर खानेपानी उपत्यकामा आउने छ । तर यतिले मात्र सम्पूर्ण काठमाडौबासीको लागि खानेपानी प्रयाप्त हुँदैन ।
पहिलो चरणमा उपत्यकामा ल्याईएको खानेपानी रिङ्गरोड भित्रका बासीन्दालाई वितरण गरिनेछ । दोस्रो र तेस्रो चरणमा याग्री र लार्के खोलाको पानी थप गरी काठमाडौ ल्याउनको लागि आयोजनाले डिपिआर समेत तयार गरिसकेको छ । उक्त आयोजना सफल भएको खण्डमा ११ कि.मी सुरुङ्ग मार्ग मार्फत याग्री र लार्के खोलाबाट १७÷१७ करोड लिटर पानी मेलम्चीमा जम्मा गरिनेछ र मेलम्ची खोलाको १७ करोड लिटर पानी समेत जोडेर दैनिक ५१ करोड लिटर खानेपानी राजधानी ल्याउने लक्ष्य छ । यो योजना सम्पन्न भएपछि मात्र उपत्यकाबासी सम्पूर्ण मानिसका लागि खानेपानी प्रयाप्त हुनेछ ।
0 Comments