२०७१ साउन ४ गतेदेखि चुरे क्षेत्रमा ढुङ्गा, गिट्टी, बालुबा जस्ता सामाग्री उत्खनन् गर्न बन्द गरिएको थियो । विज्ञहरुको भनाई अनुसार हिमाल, पहाडबाट बगेर आएको माटोले बनेको भुभाग भएका कारण यहाँ कतै अलिकति मात्रै खन्यो भने पनि माटो खुकुलो भएर बर्षौ सम्म बगिरहन्छ । यहाँ दशहजार भन्दा धेरै ठाउँ पहिरो पहिरो जोखिममा छन् । यहाँका रुख विरुवा काट्यो भने भुमिगत पानीको स्रोत सुकेर जान्छ । तत्कालिन राष्ट्रपति रामवरण यादवले चुरे संरक्षणको कार्यक्रम अगाडि सारेका थिए । यो कार्यक्रम सञ्चालन गरेपछि केही हदसम्म ढुङ्गा, गिटी दोहन रोकिएको थियो । तर पछिल्लो समय सरकारलेनै बैधानिक रुपमा चुरेको माटो बेच्ने सरकारको गैर जिम्मेवार पूर्ण निर्णयले तराईको भविष्य अन्यौलमा परेको हो ।
नेपालको अचल सम्पत्तिको रुपमा रहेको चुरेपहाडबाट ढुङ्गा, गीटी, माटो बालुवा झिकेर बेच्ने सरकारको नीति गैर जिम्मेवार मात्र होईन राष्ट्रघाति कदम हो । हालै सरकारले बजेट मार्फत माहाभारतको तल्लो बेल्ड देखि चुरेको तल्लो तटिय क्षेत्रसम्म गरी ९२ ठाउँबाट ढुङ्गा, माटो, बालुवा, गिटी निकासी, पैठारी वैधानिक रुपमै खोलिदिने निर्णय गरेको छ ।
हाम्रा पुर्खाहरुले जोगाएर राखिदिएको प्राकृतिक सम्पत्तिमा जसरी अहिले हामी बाँची रहेका छौ । भोली हाम्रा सन्तानहरु पनि आज हामीले जोगाएर राखिदिएको प्राकृतिक सम्पित्तिमा निर्भर भएर बाच्ने हो । सरकारले संसदमा छलफल नगराई अध्यादेशबाट बजेट ल्याएर गरेको उक्त निर्णयले तराईलाई ठूलो क्षति पुग्न सक्छ । चुरेको घना जंगलले तराईको भुभाग संरक्षण गरेको छ । नेपालको प्राकृतिक पर्याबरणलाई जोगाउनको लागि चुरे क्षेत्रको जंगल, जमिन र पानीको स्रोतहरुको ठूलो भुमिका रहेको हुन्छ ।
नेपालको अन्त भण्डारको रुपमा रहेको तराई क्षेत्र चुरेपहाडको काखमा रहेको छ । त्याहाको घना जंगलले तराईको पानीको स्रोत जोगाई राखेको छ । जसको कारण तराईमा सुन्दर नदी, पोखरी, ताल र सिमसार भरिपूर्ण रुपमा रहेका छन्् । थोरै जमिन मुनिबाट पानी झिकेर सिचाई गर्न सकिन्छ । पिउनको लागि प्रशस्त पानीका मुहानहरु छन् ।
चुरे दोहन गरेर ढुङ्गा गिटी बेच्नु भनेको भनेको घरमा आगो लगाएर खरानी बच्नु जस्तै हो । जंगलको विनासले जिवजन्तु, बोट विरुवा, चरा, किरा तथा लोपउल्मुक प्रजातिका बन्य जन्तुको पनि नास भएर जान्छ । जंगलका रुखका जराहरुले संरक्षण गरेर राखेको पानीको स्रोत सुकेर जान्छ । कारण खोला, ताल, कुवा, ईनार सुक्न सक्छन् र तराईनै मरुभुमिकरण हुने सम्भावना रहन्छ । पहिले ४०÷५० फिटमा पानी आउने ठाउँमा अहिले ५०० फिट खन्दा पानी निक्किन मुस्किल परिसकेको अवस्था छ ।
करोडौ वर्ष लागेर बनेको चुरे पहाड कसैको क्षणिक आवेकपूर्ण निर्णयले मास्ने अधिकार छैन । करिब चार करोड वर्ष अगाडि देखि हिमाल र पाहाडबाट बगेर आएको माटो, बालुवा र ढुङ्गाहरुबाट निर्माण भएको कारण यो क्षेत्र अन्य पहाडहरुको तुलनामा कमसल छ । चुरे मास्ने वित्तिक्कै तराईको हालत खराब हुने स्थिति छ । जस्तो यहाँको घना जंगलले तराईलाई संरक्षण गरेको छ । बाढी, पहिरो र प्राकृतिक प्रकोप रोकेको छ । जमिनको उत्पादनमा बृद्धी गरेको छ । यसैलाई मासेर बेच्दा विनास र क्षयीकरणको उच्च जोखिम रहन्छ । प्राकृतिक सम्पदाहरु संरक्षण गर्नु राज्यको दायित्व हुनुपर्ने हो । तर प्राकृतिक दोहनका लागि राज्य आफै लाग्नु जस्तो विडम्बना हरु के नै हुन सक्छ र ?
तराईको भविष्य चुरे पहाडमाथी निर्भर छ । यस कारण यसको संरक्षण नभए तराई बासीको जीवन जोखिममा छ । कसरी तराईलाई आँखै अगाडि यो पुस्ताले मरुभुमिकरण हुँदै गएको टुलुटुलु हेरेर बस्न सकिन्छ ? त्यसैले सबैले प्राकृतिक सम्पदाको संरक्षणको लागि हातेमालो गरौ । सरकारको गैरजिम्मेवार पूर्ण निर्णयको खुलेर विरोध गरौँ ।
0 Comments