सागरको तरंगहरूले जोडेर । हिफाजत गरेर लुकाएर । हुर्काउदै छु म मेरो सपनालाई । आँचलमा छोपेर, छिपाएर । सानै छ ऊ अहिले । टुट्न सक्छ , फुट्न सक्छ । कमसल र कोमल छ । दुश्मनले लुट्न सक्छ । ज्वालामुखी हो ऊ झिल्को छ अहिले । मेघ उठ्नु अघिको मिल्को छ अहिले । जसरी हुर्काएकी थिईन् , मेरी आमाले मलाई, छोपेर पछ्यौरीले । त्यसरी नै हुर्काएँदै छु, सपनाको त्यो विज अहिले । आज ऊ सानो छ भर्दै छु रंगहरु । पढाउँदै छु एउटा पुराण । भोली ठुलो हुने छ । ऊ आफैमा ईन्द्रेही हुने छ , भर्नुपर्दैन रंगहरु । घोकाउनु पर्दैन सुगालाई झै ‘गोपी कृष्ण कऊ’ ऊ त आफैमा कृष्ण हुने छ । रच्ने छ कुरुक्षेत्र । खैचिएर तान्ने छ सातै समुद्रलाई । असत्य माथी सत्यको विषय । न्याय र समानताले भरीएको । एउटा स्वर्णीम समाज । हो, त्यही हो, मैले हुकाईरहेको मेरो सपना ।

जब फायर ओपनको सिठ्ठी बज्यो ।


कुनै सपनाहरु महंगा हुन्छन् त कुनै सस्ता । मेरा सपनाहरु अलि महंगा भईदिए । खरिद गर्नै नसकिने खालको । र तीनै सपनाहरु खरिद गर्न नसक्दा कति कोपिलामै मरे, कति घायल भएर बाँचे । मरेका सपना त विलाएर गए । दुःख त केवल तीनै घायल सपनाले पो दिए । मेरा मर्नै लागेको सपनालाई व्युझाउन ऊ नआईदिएको भए पनि हुन्थ्यो । अबसोच ऊ आईदियो र यो सब भयो । 

हैसियत हो कि होइन थाहा छैन । तर मैले एकदिन उसको गाडीमा लिफ्ट मागे । त्यतिबेला मेरो बाध्यता यस्तै थियो । उसको गाडि नयाँ बानेश्वरबाट बागबजार तर्फ लाग्यो । गाडिको गती धेरै भएकोले बाटोमा खासै कुरा भएन । बागबजार नजिक ऊ रोकियो । म गाडिबाट ओर्लिए । ओर्लिदै गर्दा ऊ बोल्यो ।

–‘एउटा कुरा सोधौ ?’

–‘हुन्छ सोध न !’ 

‘पछुतो छैन  ?’ 

‘के कुरामा ?’

‘त्यति धेरै मान्छे मारेकोमा । ’

अनौठो प्रश्नले एकाएक झस्कायो । बुझ्न नसकेको प्रसंगलाई मैले निधार खुम्याएर सोचेँ । अपेक्षानै नगरेको सवालको जवाफ कसरी दिने ? बोल्नको लागि शब्दहरु भेट्नै मुस्किल प¥यो । दिमागबाट एकाएक सबै उत्तरहरु गाएब भए । बाँकी र¥यो अनपेक्षित प्रश्नको जवाफ दिनुपर्ने चुनौति । 

फेरी ऊ बोल्यो,‘जनयुद्ध अपराध थियो ?’ मैले सिधासिधा उसलाई हेरिरहेँ । ऊ हाँसेन र अझै गम्भिर भएर भन्यो,‘आजको राजनीतिक घटनाले त्यही प्रमाणित गर्दैन र ?’ ऊ जसरी फटाफट बोल्यो । म निरिह सुनिरहेँ । आज सम्म कसैले यसरी भनेको थिएन । बचनको तिर मुटुमा गाडियो । तैपनि म हाँसिरहेँ । सामान्य भनाभन भयो । त्यसदिन हामी झगडा गरेर छुट्टीयौँ । 

अर्को दिन । उसले फेरी कफिको लागि निम्ता दियो । मैले नाई भन्नै सकिन । सोमबारको दिन हामी आराधाना क्याफेमा भेट्यौँ । कफि सुरुप्प पार्दै मैले भने,‘अझै व्यवस्था फेरिएको छैन ।’ चुरोट सल्काउँदै उसले भन्यो,‘हो फेरिएको त छैन तर फेर्ने कसरी ?’ म निक्कैबेर बोलिन र सोचीरहे । अनि ऊ फेरी बोल्यो,‘सिद्दान्तको भजन गाउँदै जनतालाई भ्रममा राख्नु पनि त अपराध हो । जहाँ सपनाको विउ रोपिन्छ ,अवसरवादको उत्पादन गरिन्छ, आदर्शको मुल्य तोकिन्छ, इमान्दारीता धितोमा राखिन्छ र माक्र्सवादको व्यापार गरिन्छ । व्यवस्था फेर्ने नाममा गरिएको झुटो आश्वासन होस् वा काल्पनिक भगवानको नाममा गरिएको धर्मको खेती दुबै उस्तै प्रकृतिका अपराध हुन् । त्यसले मान्छेलाई जाँड, रक्सी, गाँजा, चरेस भन्दा बढी नशामा डुबाएर बर्बाद पार्दछ । कम्यूनिजम र धर्मको कालो चश्मा लगाएपछी मान्छेले डिजिटल जिन्दगीको सुन्दरतालाई समेत देख्दैन र सबैलाई श्यामस्वेत देख्दछ । त्यो दिन मैले यही विषय सम्झाउँन खोज्दा तिमी रिसाएकी थियौँ !’ 

फनफनी टाउको घुमे जस्तो लाग्यो । उसका शब्दहरुले बेस्सरी चिमोट्यो । गुलियो कफिको स्वादनै तितो लाग्ने गरी मन तरङ्गीत भयो । आँखा उठाएर सिधा हेरे । के भन्ने होला ? ठ्याक्कै दिमागले ठम्याउन सकेन । ऊ अझै मलाई पेलेर जाने मनस्थितिमा देखियो । उसको बेजोडको तार्किक क्षमताको अगाडि मेरो मसिनो बोलि टिक्न सकेन । तर जतिनै कुतर्क गरेर मलाई कमजोर पार्न खोजेपनि समाजमा वर्ग संघर्ष आवश्यक छ भन्ने विषयमा भने म बलियोनै थिएँ । 

बोल्ने सब्द नभेटेर म जंगलमा हराएको गाईको बाच्छो जस्तै रन्थनिएको देखेर उसले अझै घोचेर भन्यो,‘अरे कमरेड ! के गर्छेउ त अब हार स्वीकार गर ?’ मैले उसको आँखामा सिधा हेरेर भने,‘तिम्रो कुतर्कसँग हार्नु र जित्नुमा कुनै तुक छैन । बरु क्रान्ति अधुरै छ, हाम्रो पुस्ताले पुरा गर्नुपर्छ ।’ उसले फेरी मलाई जिस्क्यायो,‘बालुवाको घर बनेको आजसम्म देखेकी छ्यौ ?’ उसको यस्तो सवालले म झनै अवाक भएँ । 

अर्डरको खाजा आयो । तर मलाई खान मनै लागेन । कारण थियो उसको बाण जस्तो बचन । जति सम्झाउन खोजेपनि मन पोल्न छोडेन । म टोलाई रहेँ । खाजा सेलाएर गयो । मैले नखाएपछि उसले पनि खाएन र जुरुक्क उठेर बाहिर गयो । दायाँ हातले लाईटर कोरेर चुरोट सल्कायो । म पनि पछिपछि गएँ ।  हावाभरी चुरोटको धुवाँ फैलियो । मनभित्र पनि धुवाँ जस्तै अरुनै चिज फैलियो । फेरी त्यो दिन हाम्रो नबोलि नबोलि झगडा प¥यो । 

घर पुग्दा साझ ढल्की सकेको थियो । बाहिरी वातावरण चकमन्न भैसकेकाले म पनि सुत्ने तयारीमा लागे । बत्ति अफ् गरेर ओछ्यानमा ढल्किएँ । तर आँखा बन्द हुन मानेनन् । जुरुक्क उठेर पुरानो डायरी पल्टाए । जब डायरी पढ्दै गएँ । ती दिनको यादहरु एकएक गर्दै आए । जब हामी मृत्युलाई कुल्चिएर संसार जित्न हिडेका थियौँ । साँच्चै मृत्यु जित्नु सामान्य विषय होइन । एक मुठ्ठी सास र एक थोपा रगत रहुन्जेल न्याय, समानता र स्वतन्त्रताको लागि लडिरहने अठोट गरेका थियौँ । जीवनको भिक मागेर जीउदै मर्नु भन्दा पहाड भन्दा गरौ मृत्युलाई आत्मासाथ गर्ने प्रहण गरेका थियौँ ।  हरबखत नेताहरुले सिकाएको यिनै वाक्यहरु हाम्रो जीवनको आधार थियो । उठेर ल्यापटप खोलेँ । हातका औलाहरु क्यूबोर्डमा नाच्न थाल्यो । 

दुई

मेरा डायरीका पानाहरुमा अझै आँसु, रगत र पसिनाको त्रिबेणी भेटीयो । त्यसमा जे लेखिएको थियो मैले जस्ताकै जस्तै डाईप गरेँ । मुसलधारे पानीमा पनि भिज्दैभिज्दै हिड्नुपर्ने । भोक, तिर्खा, निन्द्राले थिलोथिलो पारेको शरिर । धानोस् पनि कति दिन ? ज्यान पुरै आगो जस्तै तातेर आयो । होस गुम्दै गएपछि म ढलेँ । आकृतिहरु धमिलो हुँदाहुँुँदै दुखाई थाहापाउन छाडे । मान्छे बोलेको सुन्न छाडेपछि गहिरो निन्द्रामा डुबेँ जस्तो भयो । कताकता अद्भुत आनन्दको सञ्चार भयो । आफु आफैँबाट हराएँ । म बेहोस भएँ । 

सपनामा हो कि विपनामा हो ? अहिले पनि त्यो क्षण कस्तरी स्मृतिमा आउँछन् । सयौको संख्यामा कमाण्डरहरु कासन गरिरहेका । हजारौका संख्यामा छापामारहरु लाईमा बसेका । लाखौको संख्यामा स्वयम् सेवकहरु हतमा स्ट्रेचर, चाँदे, कोदालो, बेल्चा, जस्ता युद्ध सामाग्रीहरु बोकेर उभिएका । करोडौको सख्यामा जनसमुदायहरु अन्तिम युद्धको तयारीमा जुटिरहेका । अनि म पिठ्युमा हातहतियारको झोला बोकेर दौडिरहेकी । गलामा गोलीमा माला लगाएर । कम्मरमा ग्रीनेट बाँधेर युद्धमा जान हतारिएकी । कस्तो अद्भुत आनन्द ? 

जुलुस अगाडि बढ्यो हावाको झोक्का जस्तै । म सबैभन्दा अगाडि दौडिएँ । जनसेनाको पोसाकमा सजिएर दौडिरहेकी मलाई देखेर हिड्न नसक्नेहरुले पनि साहास भरेर दौडिए । म कमाण्डर भएँ । एउटा हातमा बन्दुक थियो, अर्को हातमा, झण्डा । हसिया हथौडा अङ्कित रातो झण्डा जोडजोडले हावामा फर्फराईरहेका थिएँ । केन्द्रीय सत्ता कब्जा गर्न जाँदै थियौ । दैवि शक्तिको जस्तो अद्भुत आँट र साहस पलाएको थियो । पहिलो फायर खोल्ने जिम्मा मेरै थियो । आँधीको बेगमा युद्ध क्षेत्रमा अगाडि बढ्दै थियौँ । लाखौ जनसागर मेरो पछि पछि आउँदै थियो ।

ठूलो–ठूलो स्वरमा मैले कासन गरे,‘प्रिय कमरेडहरु ! आज हामी अन्तिम युद्ध लड्दै छौँ । हामी सत्ता कब्जा गर्दैछौँ ।’ फायर ओपनको सिठ्ठी बज्यो । मैले पहिलो फायर ओपन गरे पछि मेघ गर्जिय झै बमका धमाकाहरु र बन्दुकका आवाजहरु गुञ्जिए । दुश्मनहरु भाग्न थाले । जनसेना अगाडि बढ्न थाल्यो । चारैतिरबाट घेरा हालेर केन्द्रिय सत्ता कब्जा हुनै लाग्दा अकस्मात मेरो दायाँ कन्चटमा गोली लाग्यो र जमिनमा ढले । मेरो हातको झण्डा र हतियार पछाडिको कमरेडको जिम्मामा गयो । मेरो छातिमा टेकेर कमरेडहरु अगाडि बढे । म माथी रातो झण्डा हावामा जोडजोडले फहरायो । मन सित झै सितल भयो र म सहिद भए । 

कसैले बोलाए जस्तो लाग्यो,‘नुपुर कमरेड ! होसमा आउनोस् ।’ लामो निन्द्राबाट व्युझिए झैँ भएँ । होसमा आउँदा । उही झोपडि आकारको घर । घरका बाआमाको साथमा कमरेड चिराग र रञ्जु । रञ्जु लगातार मेरो टाउँकोमा पानीपट्टी गर्दै थिईन् । चिराग र घरकी आमाले जबरजस्त पियाईरहेको पानी निल्न नसकेर मेरो घाँटी किक्क किक्क हुँदै थियो । घरका बा सुस्केरा हाल्दै कैले कहिले भित्र कहिले बाहिर डुलिरहेका थिए । चिराग रोईरहेको थियो । 

अगाडिको विरतापूर्ण संसार त केवल मिठो सपना मात्र रहेछ । व्युझिए पछि सबै सामान्य भयो । आफैलाई छामे । उही सिथिल शरिर । गाउँको झोपडी र सानो आँगन । आँगनको  कुनामा पल्टीएकी विरामी म । फेरी त्यहि सपना देख्न मन लाग्यो । पहिलेकै सपना जहाँ विरताले संसार जितेकी थिएँ । सपनामा संसार जितेकी थिएँ । तर यथार्थमा ? आफु आफैसँग हारिरहेकी थिएँ । घरपरिवार छोडेर क्रान्तिको दिप बाल्न निस्किएको यतिका वर्षसम्म गाउँमा संगठन विस्तारमै बेतित भैरहेको थियो । विरामी शरिर घिसारी रहेकी थिएँ र बाच्नुको अस्तित्व धानिरहेकी थिएँ ।  

घरकी आमाले कोदाको खोले दिईन् । खोले खाएपछि आँत रसाय जस्तो भयो र शरीरमा तागत भरिएर आयो । पेट तातो भएपछि आगन छेउको ढुङ्गामा सुते । घरका बाले पानी फुकेर खान दिए । फुकेको तातो पानी पिएपछि लुटुक्क निदाएछु । 

दिउसो दुई बजे मात्र व्युझिए । आकास सफा भएर निलो देखिएको थियो । निलो आकासमा काला र सेता चराहरु उडिरहेका थिए । वरपर देखिने हरिया जंगलहरु र जंगलमा फुलेका राता फुलहरुले पहाडी सुन्दरताको उचाई अझै थपेको थियो । 

म व्युझिएपछि चिरागले सोध्यो, ‘दुखाई कस्तो छ कमरेड ?’ मैले टाउकाबाट रुमाल झिक्दै भने, ‘पानी पट्टी गरेपछि ज्वरो हराएको छ ।’ मेरो निधारमा दायाँ हातले छाम्दै उसले भन्यो,‘ज्वरो अझै बाँकी छ नुपुर कमरेड ।’ मैले आफ्नै टाउको छामेर भने,‘रिङ्गटा र टाउको दुखाई अलि कम भएको छ ।’ चिरागले झोला मिलाउँदै भन्यो,‘हामी कार्यक्रममा हिड्न लागेको तपाई जान सक्नुहुन्छ त ?’ मैले आँट बटुलेर भने, ‘सक्छु !’ 

तर शरिरमा तागत थिएन । गोडा लुला भएर र उभिनै गा¥हो भैरहेको थियो । तैपनि बल भरेर जबरजस्त  उभिएँ र हिड्न तयार भएँ । गोडा लगलग काम्यो । शिर देखि पाउ सम्म फतक्क गलेर आयो । थचक्क बसेँर रुन्चे स्वरमा भने,‘मेरो स्वाथ्य एकदमै कमजोर भैसक्यो चिराग कमरेड !’ गोडा काम्न थालेपछि चिरागलाई च्याप्प समाते । उसले उभिन भरोसा दिँदै भन्यो,‘हार खानु हुँदैन कमरेड !’ मैले आँखा पुछ्दै भने,‘हुन त हो र पनि यो विमारी शरिर घिच्याएर क्रान्तिलाई कति दिन योगदान दिन सकिएला र ?’ उसले मेरो टाउकोमा हात राख्दै भन्यो, ‘क्रान्ति थेग्ने नै तपाई हामी जस्तो दुःख बुझेको मान्छेले हो ।’ 

घाम लागेपछि छाँगा र खोल्साहरु दुध झै टल्कीए । आफ्नै रफ्तारमा झरिरहेका झरनाहरुबाट आउने छङछङ आवाजले जीवन प्रतिको आशा जगाएर ल्यायो । अगाडि बढ्ने अठोटले शरिमा सितलता थप्यो । घरकी आमाले खाना पकाईन् । बाच्नकै लागि खानुपर्ने बाध्यता पनि अर्को आवस्यकता बनेर आयो । घरकाबाले खाना खानको लागि आग्रह गरे । हात धोएर खानाको भाग समातेँ । तर म साहाकारी मान्छे । मकैको ढिडो र फर्सिको सागमा मिसाईएको भैसीको बोसोको गन्धले पेट बटारिएर आयो । रोक्न खोज्दा खोज्दै उल्टी गरेँ । 

नुनमा ढिडो चोपेर पानीसँग निल्ने कोशिस त गरे तर सकिन । घाँटीमा पुग्न नपाउँदै फर्कियो र फेरी उल्टी गरेँ । विहान पिएको कोदाको खोले समेत फर्कियो । चिराग र रञ्जुले भने मुख विगारेर ठिढो निलेको देख्दा हाँसो लाग्यो । सकि नसकि खितिति हाँसेँ । चिरागले मायाँ लाग्दो गरी हे¥यो । र मैले सबै खाना कुखुरालाई दिएँ ।  फेरी भोकले पेट दुखेर आयो । घरको दुधभात सम्झिएँ । आमाले खान कर गर्दा पनि नमानेर घुर्किलाएको सम्झिएँ । टाउको दुखेको बहाना गरेको सम्झिएँ । अनि आफु भित्र आफैलाई दुखाएर बसेँ । 

केही बेर पछि उकालो लाग्यौँ । कार्यक्रमको तयारी गर्नु थियो । शरिरमा तागत थिएन र खुट्टा लुला थिए । तैपनि जुन अभियानको लागि आएका थियौँ सफल पार्नु थियो । घरका बा पनि सँगै आए । रञ्जुले मेरो हात समातेर हिड्नमा भरोसा दिईन् । चिराग अगाडि हिड्यो । उसको पछाडी घरकाबा हिँडे । अनि बाको पछाडि रञ्जु र म । अनुपम प्राकृतिक छटाहरु हेर्दै ठाउँ–ठाउँमा उभिँदै र झरनाको पानी पिउँदै स्कुल चौर पुग्यौँ । 

चार कोठे भवन । भवन वरीपरी हरिया घाँस र दुबोले ढाँकेको चौर । चौरमा दुईवटा छाप्रे पसल । दुबो माथि झरेका फुलहरु । फुलहरुले छरेको सुगन्ध । खाली खुट्टाले झरेको फुलमाथि टेक्दै हिँडे । निक्कैबेर हिडेपछि दुखाई अलिअलि कम हुँदै गयो । मेरो पछिपछि चिराग आयो अनि चिरागको पछिपछि रञ्जु । तीनै जनाले दुबोमाथि खालि खुट्टाले टेक्दै समय वितायौँ ।  

एकै छिनमा चौरभरी मान्छेहरु जम्मा भए । लाग्यो यति पातलो बस्तीमा पनि यत्तिका धेरै मान्छेहरु कहाँबाट जम्मा भए होला ? अझ पुरुषहरु भन्दा महिलाहरु बढी उत्साहित हुँदै आईरहेको ध्यान दिएर हेरे । मैला र कमसल पहिरन । खाली खुट्टा, कुपोषणले जिर्ण पारेका शरिर । खस्रा र फुटेका हात गोडा । निस्तेज र निस्कपट चेहेरा । यस्तो लाग्छ यीनै दिनहिन मान्छेहरुको बीचमा हामीले विद्रोह रोप्नुछ । कतै सत्ता प्राप्त भएपछि नेताहरुले यी मान्छेहरुको भावना सँग धोका हुने त होइन ? 

चिराग दुबोबाट फटाफट निस्कियो र जुत्ता लगायो । म उसको पछिपछि गए । ऊ टक्क रोकियो । क्षितिज पारीतिर आँखा घुमायो र चौरमा जम्मा भएका मान्छेहरुलाई हे¥यो । जो तछाड मछाड गदै चौरमा भेलाहुन हतारिँदै थिए । यतिबेलै मैले भने, ‘नेतालाई विन्ति गर्नुहोला होला । जनतालाई धोका नदिनु भनेर ।’ उसले हुन्छको भावमा टाउको हल्लायो । मैले फेरी भने,‘सत्ताको स्वाद चाखेपछि कतै यी भोका पेटहरुको बुट बजारियो भने ?’ चिरागको चेहेराको रङ्ग बदलियो । ऊ निक्कै गम्भिंर भयो र मेरो आखामा हेर्दै भन्यो,‘अहिले यस्तो सोच्ने बेला होइन कमरेड ! अहिले जसरी पनि मान्छेहरुलाई युद्धमा होम्ने समय हो ।’ मन अमिलो भयो । समर्थन गर्नै सकिन उसको कुरालाई । लाग्यो दुःखीहरुको दुःखकको फाईदा उठाएर राजनीति गर्ने अधिकार कसैलाई छैन । 

मान्छेहरु स्वतस्फूर्त मिलेर बसे । कार्यक्रमको सुरुवात भयो । चिरागले झोलाबाट रातो डायरी झिक्यो र पाना पल्टाउँदै भन्यो, ‘कार्यक्रम सञ्चाल गर्नुस् नुपुर !’म कार्यक्रम सञ्चालन गर्न तयार भएँ । रञ्जुलाई नाम टिप्ने जिम्मा दियौँ  । चिरागलाई प्रमुख अथितिमा र स्थानिय पार्टीका नेता बाइवालाई सभापतिमा राख्यौँ । उनी पार्टीको वडा कमिटी अध्यक्ष पनि थिए । चौरभरी मिलेर बसेका मान्छेहरुको ध्यान हामीतिरै तानीयो । स्वयम् सेवकहरुले स्कुलको कक्षाबाट बेन्च झिकेर अथितिलाई राख्ने व्यवस्था गरे । चिराग सहित अरु तीन जना लाली, दोर्जे र सोनामलाई पनि अथितिमा राखियो । उनीहरु स्थानिय जनसत्ताका प्रतिनिधिहरु र यसै गाउँका बासिन्दा थिए । 

कार्यक्रम अगाडि बढ्यो । रञ्जुले मान्छेको नाम टिप्ने र जनमास मिलाएर राख्ने काम कुसलतापूर्वक गरिन् । मैले कार्यक्रमलाई अगाडि बढाएँ । सभापति आसन ग्रहण, अथितिरु आसन ग्रहण, स्वागत भाषण, अथिति भाषण हुँदै कार्यक्रमले विभिन्न चरण पार ग¥यो । बीच–बीचमा सोही स्कुलका विद्यार्थीले गीत पनि गाए, लाली गुरास फुलिसक्यो लेक माथि माथि ।....सघर्षको मैदानमा छन् सबै संगी साथी.....। कालो निलो अधेरी रात.....। उदाउने छ विहानी त्यहीबाट...। र केही केही विद्यार्थीहरु त स्कुल ड्रेसमानै छमछमी नाचे । विद्यार्थी सँगै चौर भरीका मान्छे पनि चाच्न थाले । गीत सकियो । सबै आफ्नो स्थानमा बसे । क्रमसः प्रमुख अथिति चिरागको बोल्ने पालो आयो । ऊ बोल्न थालेपछि स्थिति अर्कै भयो । 

उसले बोल्यो घण्टौ । उसको धारा प्रवाह भाषणको शब्दनै मान्छेको रगत उमाल्ने खालका थिए । विद्रोहको विजारोपण पहिल्यै भएको थियो । अब उसको तेजिलो भाषणले मलजल ग¥यो । चिराग यसरी बोल्यो कि ऊ बोल्ने बेलामा कसैले आवाज निकालेनन् । बोलिमा यस्तो दम थियो कि दर्शकलाई कार्याक्रम छोडेर जानै दिएन । लाग्छ उसको त्यही एउटा दमदार भाषणले मान्छेको सोचाईमा कायाँपलट ल्याईदियो । आखाँ चिम्लिएर युद्धमा हाम फाल्न तयार बनायो । उसको वाक चातुर्यता देखेर म पनि चकित परे । पहिलो पटक हो भाषण पनि सुमधुर संगीत जस्तो लागेको र अनि उसै–उसै मोहित भएको ।

 साँझ पर्दै गयो । सभापतिबाट कार्यक्रमको अन्त्य भयो । मानिसहरु फर्किए । तैपनि घण्टौसम्म चिराग स्थानिय युवाहरुको घेराईमा परिर¥यो । वर्ग संघर्ष, युद्ध, राज्यआतंक र युवाहरुले खेल्नुपर्ने भुमिकाको विषयमा स्थानिय युवाहरुलाई कन्मिन्स गर्दा गर्दै साँझ छिप्पीयो । चराहरु बासमा फर्कन थाले । लाली, दोर्जे र वाईवा पनि घर गए । अनि ती केटाहरु पनि गए । 

हामीलाई पनि बास खोज्नु थियो अब । स्कुल चौरको घरमा खाना र वस्नको लागि व्यवस्था गरियो । रञ्जु कमरेड भोक लाग्यो भन्दै खाने व्यवस्था गरिएको घरतिर लागिन् । चिराग डायरी मिलाउँदै थियो । म चिरागलाई कुरेर बसेँ । कुर्दा कुर्दै सोचेँ जीवन संघर्ष, वर्ग संघर्ष र बलिदानले मात्र यो व्यवस्था परिवर्तन होला त ? के यत्रो भयानक व्यवस्था परिवर्तन गर्न यहि शैली ठिक होला त ? सोचाईमा डुब्दै गर्दा चिरागले सोध्यो, ‘के भो कमरेड !’ मैले हतार–हतार जबाफ फकाएँ, ‘वर्ग संघर्ष र हाम्रो वर्गका मान्छेहरुको नाजुक अवस्था देखेर नमिठो लाग्यो कमरेड !’ चिराग मै बसिरहेको मुढामा बस्यो । टलक्क मलाई हे¥यो र भन्यो, ‘क्रान्ति सफल भएपछि सब ठिक हुन्छ ।’

साँझ पर्दै गयो । चिसो बढ्न थाल्यो । एक भुल्को सितल हावाले चिरागको सिरमा हिर्कायो । उसका केसहरु जथाभावी छरिए । हावाको सितलतामा मिसिएको उसको मिठो हाँसोले मेरो किसोरी मनलाई कताकता चरक्क पा¥यो । लाग्यो उसको मुस्कान हावाको भुल्को भन्दा सितल छ । 

एक्कासी चिरागले भन्यो,‘यो हावाले खतराको संकेत लिएर आएजस्तो लाग्छ नुपुर !’ मेरा ओठहरु डरले काम्न थाले । मेरो दायाँ हात समातेर चिरागले नआत्तिन भन्यो । यतिबेलै बन्दुक पड्किएको आवाज आयो । कुन हतियारको आवाज हो पत्ता लगाउन नपाउँदै फेरी अर्को आवाज आयो । चिराग भन्दै थियो,‘इन्सास पड्कियो । दुश्मन नजिकै आए जस्तो छ । ए नुपुर यता आउनुस् जाऊ ।’ वाईवा दौडिदै आए । हस्याङ्गफ फस्याङ्ग गर्दै आएका उनले आत्तिदै भने, ‘आर्मि एकदमै नजिक आएको छ छिटो जानोस् कमरेड !’

वाईवाको निधारको पसिनाले भनीरहेको थियो हामी निकै खतरामा छौँ । तलबाट रञ्जु रुँदै आइन् । चिरागले मेरो र रन्जुको हात समात्यो । हामी रुन थाल्यौ । उसले नआत्तिन भन्यो । मैले हतार हतार झोला बोके । वाईवालाई सुरक्षित रहँदै खबर पठाउँन जिम्मा दिएर हामी ओरालो लाग्यौँ । बनमारा र उतिसको हरियो झाडि र झाडिभित्रका पतकरमा टाउको छिपाउँदै विस पाईला के हिडेका थियौँ । भयानक आवाजमा फेरी बन्दुक पड्कियो । 

रञ्जु बसेर रुन थालिन् । उनलाई जबजस्ती तान्दै काँडा घारिमा हामफाल्यौ । हामफालेको कान्लो निकै अग्लो परेछ ढुङ्गामा पछारियौ । ढुङ्गाको धारले गोडा काट्यो । थचक्क बसेँ ।  रञ्जुको घुँडा ढोकियो । चिरागको पाखुरामा चोट लाग्यो । तीनै जना घाइते भयौँ । हिड्न सक्ने अवस्था रहेन । ‘ऐया बाबा !’ भन्दै म धुरुधुरु रोएँ । जीवनको अन्तिम क्षण आए जस्तो लाग्यो । गोडा काटेर रगत लगातार बग्न थालेपछि मेरो अवस्था नाजुक हुँदै गयो । चिरागले रुमाल झिकेर मेरो घाउ बाँधिदियो । रञ्जुले आफ्नो रुमालले सलले रगत बगेको पाखुरामा बाधिदिइन् । बन्दुक पड्किएको आवाज हामीतिरै बड्यो र झनझन् आत्तियौ । एकले अर्कोको हात समातेर गहिरो खोचमा छि¥यौँ । विशाल दुई ढुङ्गा खप्टिएर बनेको वडार रहेछ । त्यसै भित्र गयौ । सेनाको आँखा हामीमा परेन सायद । होस लगभग गुमिसकेको थियो । मैले मनमनै सोचे, गिरफ्तारी दिएर यातना खाईखाई मर्नु भन्दा त बरु तातो गोली पिएरै मर्नु बेस । आफ्नो निश्कर्ष रञ्जु र चिरागलाई सुनाएँ । उसले भेरो मुख आफ्नो हातले च्याप्प थुनेर भन्यो,‘चुपलाग्नुस् !’ उसले ग्रिनेट पड्काउने तयारी ग¥यो । धन्न सेना फर्कियो र ठूलो भवितब्यबाट बच्यौँ । सास समेत रोकिने गरी भित्तामा टाँसिएर बसिरह्यौ । वडार भित्र जमेको पानी थियो । पानीले पेटसम्म डुबेका थियौ । डुबेरै बसिर¥यौँ । 

रात छिप्पीदै गयो । पानी दर्किन थाल्यो । खोल्ला खोल्सीहरु कलकलाउँदै बढ्न थाले । हावा सुसाउँदै सुसाउँदै रुख विरुवाहरुमा धक्का दिन थाल्यो । चराहरु चिरविर चिरविर गर्दै उड्न थाले । हामी तिन प्राँणी अनकन्टार खोल्सामा एक अर्काको मलिन चेहेरा नियाल्दै बस्यौँ । चराहरु कराउन छोड्दै गए । सायद ताराहरुले धर्ति चियाउन थाले होलान् । तर बादलले छेकेर आकास हेर्ने दिएन । हावा झन्झन् ठूलो स्वरले सुसायो । मेघ गर्जन थाल्यो । ठाउँ छोडेर हिडौ दुश्मन नजिकै छ । देख्यो भने गोली ढोक्छ । नहिडौ घाउबाट रगत बगेर शरिरको रगत सिध्दिन लागीसक्यो । 

मिलिक्क मिलिक्क विजुली चम्क्यो । अझै बेजोडसँग आकास मडारियो । मेघ गर्जिएका आवाजसँग मिसिएर बन्दुक पड्किएको आवाज सघन हुँदै गयो । सघन आवाज हामी भएतिरै आयो । भित्ता तर्फ बढ्दै जाँदा पानीको गहिराई पनि बढ्दै गयो । हामी झन्–झन् डुब्न थाल्यौ । कम्बर छाति हुँदै घाटिसम्म पानी पुगेपछि फरक्क फर्कियौ । हात समातेर पोखरी बाहिर निस्कियौ । विस्तारै दुरी पार गर्न खोज्दा सकेनौ र तीनै जना ढुङ्गाको आडमा छेको लागेर बस्यौँ ।  

तर निस्पट्ट अन्धकारले अर्को जोखिममा पर्ने सम्भावना बढ्यो । पूर्ण अपरिचित भुगोलले साथ दिन सकेन । घाउ भतभती पोल्न थाल्यो । पानीको थापाहरु भmन्–झन् बाक्लिए । च¥याएको र रगत बगेको घाउमा पानीको थोपाले हिर्काउँदा सहनसक्ने स्थिति बनेन । अवस्था आकुल व्याकुल बनायो । रुखको फेद खोज्दै ओत लाग्ने कोशिष ग¥यौँ । तर सम्भव भएन । पानी यति ठूलो दर्कियो कि रुखको पातले ओत दिनसक्ने अवस्थानै थिएन । खाना नखाएर तीन दिनदेखि भोकाएका थियौ । असिना पानीको चुटाई बेसरी खायौँ । 

कसरी व्याख्या गरौ खोई ? काँडा घारी । मध्यान्न रात । पानीको मुसलधारे रुप । लामखुट्टे र जुकाको टोकाई ।  भोको पेट । विमार भएको शरिर । भर्खर काटेको आलो घाउ । लगातार बगिरहेको रगत । यस्तो बेला जीन्दगीको मायाँ अरुबेबेला भन्दा धेरै लाग्ने रहेछ । हाम्रो अवस्था यति धेरै नाजुक बनेको थियो । कसैले कल्पना समेत गर्न सक्दैन थिए या भनौ असम्भव लाग्ने दन्ते कथा जस्तो । जुन हामीले यथार्थ भोगेका थियौँ । 

मैले भने, ‘भोली विहानसम्म प्राण बाँकी रहला कि नरहला कमरेड ?’ रन्जुले भनिन्, ‘खोल्सामा तड्पिएर मर्नुभन्दा त तातो गोली खाएर मर्नुनै बेस जाऊ चिराग हिड्नुस् ।’ मैले पनि उनकै कुरामा समर्थन जनाउँदै भनेँ, ‘यसै मर्ने उसै मर्ने जाउँ चिराग उठ्नोस् ।’चिरागले आफ्नो हातले मेरो बोलिरहेको ओठलाई बेस्सरी रोक्दै भन्यो, ‘काहाँ जाने ? पागल हुनु भो । सन्सार बदल्नको लागि बाच्न मन छकि छैन ?’ मैले रिसाउँदै भने, ‘बदल्यो संसार यस्तो खोचमा लुकेर ।’ चिरागले सानो स्वरमा भन्यो,‘चुप लाग्नुस नुपुर !’ अनि स्वास पनि पुरा नफेरी भित्तामा टासिएर बसेँ ।  

अब विस्तारै मध्यान्न रात ओरालो झर्न थाल्यो । तर पानीको दकाई झन्–झन् उकालो चढ्न थाल्यो । काँडा, मुसेखरी, बनमारा घारी माड्दै केही पाइला तल झ¥यौ । अनकन्टार भिर आयो । मेरो गोडाको रगत कति बग्यो कुन्नी ? अध्यारोको कारण देख्न सकिएन ।  सायद रगत धेरै बगेर होला शरिर काम्न थाल्यो । टाउको रिगाउन थाल्यो । चिराग र रन्जुको पनि अवस्था मेरो जस्तै नाजुक भैसकेको थियो । 

कष्ठसाध्य भोगाई पछि रात विहानतिर ढल्कियो । पानीको दकाई कमजोर हुन थाल्यो । दुस्मन फर्किएको अनुमान काड्दै चार हात खुट्टा टेकेर ओरालो झ¥यौँ । फेरी एक्कासी गाउँमा बन्दुक पड्किएको ठूलो आवाज आयो । आवाज त्यतिकै शान्त भएन । यसको लगतै गाउँलेहरुको कोलाहाल हाम्रो कानमा ढोक्कियो । सेना फर्किको रहेन छ । गाउँलेहरु रोएको चिच्याएको आवाज निकैबेर हाम्रो कानमा गुञ्जिर¥यो । फेरी पिडा माथि पिडा थपियो । रातभरी भिजेको भन्दा बढी गाहे भयो । पुरै आकाश खसेर हामीलाईनै थिचेजस्तो लाग्यो । पानी दर्किएझैँ गोलीको आवाज बर्सिएको सुनिर¥यौ । मानिसहरुको चिच्याहट झनै सघन भएर आउन थाल्यो । यस्तो लाग्यो, पुरै गाउँ सखाप हुँदै छ । मन बेचैन भयो । ठिक यतिबेलै मैले महसुस गरे ! घाउबाट बगेको रगतको कारण अब मेरो होस गुम्दैछ । जीन्दगीको अन्तिम विन्दुमा पुगे जस्तो लाग्यो । घिस्रदै केही पाईला तल झ¥यौँ । छङ्गाछुर भिर आयो । त्यो भिडबाट मान्छे लड्यो भने एक चौटा मासु भेट्न समेत मुस्किल पथ्र्यो । 

होस आउँदा पूर्व रातो हुँदै मिरमिरे फाट्न थालेछ । म व्युझिएपछि चराहरु पनि व्युझिए  । चराहरुको चिरविरमा कतै टाढाबाट कुखुराको डाँको पनि मिसियो । नविन विहानीमा हामीले नविन जीवन पायौ या यसो भनौ यो पटक पनि हामी मरेनौ । मनमा केही सितलता दियो विहानीको आगमनले । तर विहानीमा आउनुपर्ने नयाँपन पटक्कै आएन । भनिन्छ प्रभातले नविनता, उत्साह, उमंग र जोश जाँगर सँगै लिएर आउनेगर्छ । तर आज यस्तो भएन । अझ आईलाग्यो चुनौतिपूर्ण र कहालिलाग्दो समय । भविष्यमा सामाना गर्नुपर्ने अनिष्टका संकेतहरु ।

सेनाको पञ्जाबाट आफु त जोगियौ । तर जनतालाई बचाउन सकेनौ । लाग्यो हामी पनि नभागी त्यही बस्नु पथ्र्यो । उनीहरुले जे भोग्छन् त्यहि भोग्नु पथ्र्यो । अनि फेरी लाग्यो यस्तो दुस्प्रयास पनि त मुर्खता हो । आधुनिक हतियारसँग खालिहात प्रतिरोध ? परिणाम गोली खाएर मर्नु सिवाय केही केही होइन । अनि सबै गाउँलेलाई सँगै लिएर भाग्न पनि सम्भव भएन । हतियारको नाममा दुईवटा ग्रीनेट बोकेको थियो चिरागले । त्यहि पनि रातभरीको पानीले भिजेर ओसिएको थियो । पड्किन्छ पड्किदैन के थाहा ? यस्तो अवस्थामा प्रतिरोध विना उपलब्धी क्षति बाहेक केही होइन । प्रतिरोध सम्भव नभएपछि अन्तिम विकल्पको रुपमा आफै भाग्नु र लुक्नु हाम्रो बाध्यता  थियो । 

युद्धले आक्रान्त देश । गाउँ गाउँमा रगतको खोला । यस्तो लाग्छ आजसम्म जति रगत बगेको छ थोपाथोपा जम्मा गर्ने हो भने नदी बन्छ होला ? लाग्छ अब त हामी बदला लिनकै लागि भए पनि बाच्नुपर्छ । सोच्दै गर्दा बादलको पर्दा च्यातेर उज्यालो धर्तिमा छरियो । उज्यालोले बाटो पहिल्याउन मद्धत ग¥यो । पीडा जति भएपनि बाच्नु र अगाडि बढ्नुको विकल्प थिएन । गोडा खोच्याउँदै खोच्याउँदै हिड्यौँ । हिडिर¥यौ । 

पल्लो गाउँमा पुग्दा सुर्यका किरणहरु पूर्वबाट पश्चिम ढल्की सकेका थिए । पार्टी कार्यालय पुग्दा कमरेडहरुले  चिनेन् । बन मान्छे जस्ता भएका थियौँ । आँगनमा पाइला टेक्दै लामो स्वास लियौँ । रेडियो बजिरहेको थियो । बजिरहेको रेडियोले भयाँनक समाचार कानमा ल्याएर ढोक्कायो, ‘रानौपौवा गस्तिमा गएका सुरक्षा कर्मी माथि आतंकारीले आक्रमण ! प्रतिरोधमा पन्द्र आतंककारीको मृत्यु दश जना पक्राउ !’ जति पिडा भौतिक संघर्षले भएको थियो । त्यो भन्दा सयौ गुणा पिडा मानसिक संघर्षले थप्यो  । रुन पनि कति रुनु । कठोर हुनुको विकल्पनै बाँकी थिएन अब त । हाम्रो अवस्था देखेर निक्कैबेर छक्क परेपछि कार्यालयका कमरेडहरुले घर भित्र बोलाए । जानै मन लागेन । आगनको बेन्चिमा बस्यौ । तिनै जना एकले हेर्यौ अनि मुठ्ठी उठायौँ ।  किन हो कुन्नी यतिबेला भने रोएनौ । लाग्यो रोएर संसार बदलिदैन । जब आज पुराना डायरीका पानाहरु भल्टाएँ । आफैले लेखेको त्यो गाथा पनि कथा जस्तो  लाग्दैछ । 



Post a Comment

0 Comments